
खजुरा । बाँकेको खजुरा गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८०-०८१ को अन्तिम सार्वजनिक सुनुवाई गरेको छ । बास नेपालको सहजिकरणमा भएको सुनुवाईले ७ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ ।
सहभागि र सरोकारवालाबिच गरिएका प्रतिबद्धताहरुमा खजुरा प्रथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरको नियुत्तीका लागि संघिय सरकारसँग माग भईसकेको र आर्थिक बर्ष २०८१-०८२ को पहिलो चौमासिक भित्र डाक्टर सहितको सेवा सञ्चालनको पहल गर्ने, खजुरा गाउपालिकालाई खेलकुदका लागि उर्वर क्षेत्रको रुपमा बिकसित गर्न खेलकुदमा लगानी बढाउने तथा खेलकुदग्रामको हल मर्मत तथा ब्यवस्थापन गर्ने, बिपत प्रभावित परिवारलाई हालसम्म पनि रकम भुक्तानी नभएको पाईएकाले एक महिना भित्र भुक्तानी हुन सबै रकम सम्बन्धित ब्यक्तिको खातामा निकासा गर्ने रहेको छ ।
यस्तै पालिकाभित्र सञ्चालीत बिशेष महत्वका योजनाहरुको काम छिटो छरितो सम्पन्न गर्न पहल गर्ने, खजुरा ग्रिन सिटि परियोजनालाई प्राथमिकिकरणमा राखेर काम गर्ने, खजुरा बिद्युत सव स्टेशनको काम यथासक्य सञ्चालन गरि दुई बर्ष भित्र सम्पन्न गर्ने, भानु माबिको अधिनमा रहेको भवन ब्यवस्थापन गरी कम्प्युटर शिक्षालयको रुपमा बिकास गर्ने, गाउँपालिकाले तयार गरेको प्रतिवेदन तथा तथ्याँकलाई आधिकारीक रुपमा प्रमाणित गरेर सार्वजनिक गर्ने, वडा नम्बर ३ आदर्शटोलमा नाला निर्माण गर्ने, लक्षित वर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
सार्वजनिक सुनुवाईको सुरुवातमा गाउँपालिकाले आर्थिक बर्ष २०८०-०८१ को अन्तिम चौमासिकमा गरेका कार्यहरुको प्रगति प्रतिवेदन गाउँपालिकाका प्रवक्ता धनराम ओली क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।





