
नेपालगञ्ज । प्रतिबन्धित औषधीसहित दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्ध रहेको औषधीहरु नेपाल ल्याउँदै गर्दा प्रहरीले जिल्लाकै कोहलपुर नगरपालिकाका दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका वडा नं-१५ का छोटेलाल थारु र भुन्सी थारु पक्राउ परेका छन् । भारतीय बजार रुपैडिहा गएर फर्किदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालयबाट जमुनाहा नाकामा खटिएका प्रहरीले चेकजाँच गरेका थिए ।
छोटेलालले चलाएको भे १० प २२५८ नम्बरको मोटसाईकलमा पछाडी बसेका भुन्सीले प्लाष्टिकभित्र भोकेट नामक औषधी हजार पिस र निम्सोलाईड नामक औषधी हजार पिस लुकाई राखेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।
असार ३० गते आइतबार नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।





