
नेपालगञ्ज । मुस्मिल धर्मावलम्बीहरुले आज मोहर्रम पर्व धुमधामका साथ मनाउँदै छन् । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि पर्वको समापन हुने गर्दछ ।
यो पर्व १० दिनको भएपनि मुख्य रूपमा चार दिन मनाइन्छ । मोहर्रमको १० औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झनाको दिन हो ।
हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।





