
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-६ स्थित सैयद कृषि सहकारी संस्थाको अध्यक्षमा सम्सुदुहा खान (बद्दाम) चयन हुनुभएको छ ।
शनिबार सहकारीको दोस्रो साधारणसभाले तीन वर्षीय कार्यकालका लागि खानको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति सर्वसहमतिबाट चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा नाजिया खातुन, सचिवमा अनवर अलि नद्दाफ, कोषाध्यक्षमा साकिर खाँलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा क्रमशः सकिल अहमद पठान, वकिल जोलाह, बन्दना देवी यादव, मोहम्मद रहिस खाँ र कृपा हरिजन चयन हुनुभएको हो ।
यसैगरी तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिको संयोजकमा सलमान खाँ, सदस्यहरुमा इबरान खाँ र वसिमुन पठानिन रहनुभएको छ भने सल्लाहकार समितिमा सद्दाम हुसेन खाँ, महेश गुप्ता (सुरज कुमार गुप्ता) र जियाउँल हक खाँलाई चयन गरिएको छ ।
सद्दाम हुसेन खाँको अध्यक्षतामा भएको साधारणलाई सम्बोधन गर्र्दै खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले कृषि सहकारीले किसानको हितमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले पालिकाभित्र किसानहरुले गर्दै आएको खेतीपातीका लागि आवश्यक सामाग्रीहरुको सहज व्यवस्थापनमा बिशेष ध्यान दिन जोड दिनुभयो ।
कृषकका लागि पालिकाले कृषि सहकारीसँग आवश्यक समन्वय सहकार्य लगायतका कार्यमा सहयोग गर्न सक्ने धारणा राख्नुभएको थियो । यस्तै खजुरा गाउँपालिका वडा नं ५ का गरिबे शेषले स्थानीयस्तरमा सहकारी नहुदा यहाँका किसान अन्यत्रबाट खाद्य लगायतका कुराहरु किन्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले कृषि सहकारी भएको खण्डमा किसान अन्यत्र वडामा भौतारिन नपर्ने र सहजरुपमा कृषि कार्य गर्न पाउने वातावरण निर्माण हुने भएकाले सहकारी संचालनमा आफ्नो भूमिका आवश्यक परेको बेला निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
सभालाई नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, सैनिक सहकारी संस्थाकी अध्यक्ष उमा थापा, नेता महेन्द्र मल्ल ठकुरी, सहायताका लागि सहयोगी हातहरुकी अध्यक्ष पुष्पा सुनार, नेता देउफल यादव, घुरे खाँ, लगायतले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा सहकारीको आजिवन सदस्यता लिनेहरु गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, महेन्द्र मल्ल ठकुरी र पुष्पा सुनार लगायतलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । निर्वाचित समितिले मलखाद तथा बिउबिजनबाट सहकारीको कार्यको शुरु गर्ने जनाएको छ । २०७१ सालमा स्थापना भएपनि विविध कारण केही समय सहकारीले आफ्नो उद्देश्य अनुरुप नियमित संचालन हुन सकेको थिएन् ।





