लागूऔषधविरुद्धका अभियान्ता बिसी सम्मानित

नेपालगञ्ज । लामो समयदेखि लागूऔषधविरुद्ध अभियान्ताका रुपमा काम गरिरहनुभएका प्रविण बिसी सम्मानित हुनुभएको छ । दमयन्ति फाउन्डेशन नेपाल, बाँकेले अभियान्ता बिसीलाई मंगलबार (आज) कार्यक्रमको आयोजना गरेर सम्मान र पुरस्कृत गरेको हो ।

८औं नयनराज रावल स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्रप्रसाद रिजाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, सशस्त्र प्रहरी बल महेन्द्रनगरका एसपि बिमल डाँगी एवम् दमयन्ति फाउन्डेशन नेपाल, बाँकेकी अध्यक्ष इन्द्राकुमारी जिसीले अभियान्ता बिसीलाई उहाँले निरन्तर गरेको सामाजिक कार्यको कदर स्वरूप खादा ओडाएर सम्मान गर्दै नगद १० हजार एक रुपैयाँले पुरस्कृत गर्नुभएकाे हाे ।

दमयन्ति फाउन्डेशनकी अध्यक्ष जिशीका अनुसार उहाँका श्रीमान नयनराजले आमाको नामबाट असाय, असक्त र गरिब व्यक्तिलाई सयोग गर्ने उद्देश्यले फाउन्डेशनको स्थापना गर्नुभएकाे थियाे । नयनराजको स्मृति दिवसका अवसरमा हरेक वर्ष सामाजिक कार्यमा उल्लेखनिय काम गर्दै आइरहेका व्यक्तिहरुलाई फाउन्डेशनले सम्मान र पुरस्कृत गर्दे आएको जिशीले बताउनुभयाे ।

सम्मानपछि कार्यक्रममा बोल्दै अभियान्ता बिसीले बाँकेमा लागूऔषधविरुद्धको अभियानमा नयनराजको कार्यलाई सम्झँदै आफूलाई पनि नयनराजले लागूऔषधविरुद्धको काम गर्न प्रेरित गरेको बताउनुभयाे । साथै उहाँले पुरस्कास्वरुप प्राप्त गरेको १० हजार एक रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र माध्यमिक विद्यालयलाई प्रदान गर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले बाँकेमा लागूऔषधको अवस्था चिन्ताजनक रहेको बताउँदै बिसीले लागूऔषधका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताउनुभयाे ।

को हुन् अभियान्ता प्रविण बिसी
अभियान्ता प्रविण बिसी विगत १६ वर्षदेखि बाँकेमा लागूऔषधकाविरुद्ध काम गर्दे आइरहनुभएकाे छ । आफू स्वयम् लागूऔषध प्रयोगकर्ता रहेको बताउँदै लागूऔषध कुनै अपराध नभएर बिरामी रहेको र यसको प्रयोग गर्ने जो कोहीलाई पनि उपचारको माध्यमबाट छुटकारा दिन सकिने उहाँको भनाइ छ ।

प्रविणले लागूऔषधविरुद्धको काम २०६६ सालदेखि सुरु गर्नुभएकाे थियाे । सुरुमा उहाँले परिवर्तन समूह बाँकेको उपसमितिको सदस्य भएर काम गर्न सुरु गर्नुभएकाे थियाे । त्यसपछि २०६८ सालमा रिकभरिङ्ग नेपालको साविक (मध्ये तथा सुदूरपश्चिम)को वित्तिय व्यवस्थापक तथा प्रवक्ताका रुपमा काम गर्नुभयाे ।

२०६९ सालमा नेपालगन्जमा रहेको भेरी अस्पतालबाट संचालित मेथाडन, मौखिक (ओएसटि) उपचार पद्धतिको परामर्शदाताको पनि भूमिका निभाउनुभयाे । २०७४ सालमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशको फेकल पर्सन र सोही सालदेखि परिवर्तन समूह बाँकेको अध्यक्षका रुपमा हालसम्म काम गर्दै आइरहनुभएकाे छ ।

यसका अलव उहाँले आफ्नै दिदीको नामबाट स्थापित लता केयर फाउण्डेशनको अध्यक्षको रुपमा पनि काम गरिरहनुभएकाे छ । लता केयरले पनि लागूऔषधविरुद्ध काम गर्छ ।

यो १६ वर्षको अवधिमा प्रविणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४ हजार बढीलाई परामर्श तथा सहयोग गरिसक्नुभएकाे छ भने करिब १ हजार जना लागूऔषध प्रयोगकर्तालाई उपचार प्रदान गरिसक्नुभएकाे छ ।

Previous article‘एक युवा एक बिरुवा रोपौं अभियान’ भन्दै नेपालगञ्जमा बृक्षारोपण
Next articleकुहिएर गएको काठ व्यवस्थापनमा सुधार हुनेछः मन्त्री कुर्मी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here