‘एक युवा एक बिरुवा रोपौं अभियान’ भन्दै नेपालगञ्जमा बृक्षारोपण

नेपालगञ्ज । २४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्जका बिभिन्न ठाउँहरुमा बृक्षारोपण गरिएको छ । नेपालगञ्जका युवाहरुले मंगल प्रसाद माध्यमिक विद्यालय, रानी तलाउ परिसर र महेन्द्र पार्क परिसरमा बृक्षारोपण गरेका हुन ।

सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मंच (एसडिएफ) बाँकेको आयोजनामा बृक्षारापण गरिएको हो । सो कार्यक्रममा नेपालगञ्ज वडा नं–८ ले सहकार्य गरेको थियो । एक युवा एक बिरुवा अभियान भन्दै अमला, गुलमोहर, नासपत्ति लगायतका बिरुवा रोपिएको छ ।

बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज वडा नं–८ का वडा सदस्य निखिल कुमार बैश्यले आफुले रोपेको बिरुवाको ख्याल गर्न अनुरोध गर्नुभयो । हाम्रो सानो प्रयासले बृक्षारोपण गरेर सबैका लागि आवश्यक अक्सिजन उत्पादन गर्न सकिने भन्दै उहाँले पर्यावरण जोगाउनसमेत रुख बिरुवाको आवश्यकता पर्ने हुँदा यसतर्फ युवाले ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

यस्तै सेभ द चिल्ड्रेनकी बुलगारी परियोजना अधिकृत फुलकुमारी चौधरीले युवा दिवस परेको अवसरमा गरिएको बृक्षारोपण एक दिन मात्रै सिमित नराख्न अनुरोध गर्नुभयो । उहाँले जग्गा खाली हुनेबित्तिकै बिरुवा लगाउनुपर्ने कुरामा जोड दिनुभयो ।

मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले नेपालगञ्जको पछिल्लो समय बढ्न थालेको गर्मीलाई बृक्षारोपण अभियान नै चलाएर केही हदसम्म कम गर्न सकिने बताउनुभयो । उहाँले यसका लागि युवाहरु नै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागि सबै युवालाई एक एक बिरुवासमेत लगाउनका लागि प्रदान गरिएको छ । नेपालगञ्जमा संचालित पावर फोर एवाई परियोजना अन्र्तगत गरिएको कार्यक्रममा नेपालगञ्जका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जमा ५२७ औं तुलसीदास जयन्ती र चौथो अन्तरदेशीय अवधी महोत्सव मनाइयो
Next articleलागूऔषधविरुद्धका अभियान्ता बिसी सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here