बाँकेमा दुई समूहबीच झडप, दुई गम्भीर घाइते, चार जना पक्राउ

नेपालगञ्ज । बाँकेमा दुई समूहबीच भएको झडपमा दुई युवा गम्भीर घाइते भएका छन् ।

जिल्लाको को राप्तीसोनारीमा शनिबार साँझ भएको झडपमा बैजनाथ गाउँपालिका वडा नं-७ का २८ बर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नं-२ बस्ने २८ बर्षीय सन्दीप बिष्ट घाइते हुनुभएको हो ।

उनीहरुबीच राप्तीसोनारी गाउँपालिका वडा नं-५ बिनौनामा शनिबार बेलुकी करिव साढे ७ बजेतिर झडप भएको थियो । घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोट लागेको छ ।

घाइतेहरुको नेपालगञ्ज मेडिकलमा उपचारपछि थप उपचारका लागि भारत लखनऊ लगिएको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री बितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।

यसैबीच घट्ना सम्बन्धमा नेपाल तरूण दल बाँकेले दोषीमाथि कारबाहीको माग गरेको छ । तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सदस्यद्वयमाथि भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारबाही नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।

विज्ञप्तिमा विगतदेखि नै आतंक मच्याउँदै आएको आपराधिक समूहले छिमेकी जिल्ला दाङबाट समेत गुण्डागर्दीमा आबद्ध गिरोहका मान्छेहरू बोलाएर बिनौना चोकमा ढुकेर राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वली भनिने (ज्ञानु) को समूहले आक्रमण गरिएको दोषारोपन गरिएको छ ।

आरोपित वडाध्यक्ष नेकपा एमाले निकट युवा संघ बाँके जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । तरूण दल बाँकेका अध्यक्ष शाह र सचिव रिजालले वडाध्यक्ष वलीको नेतृत्वमा स्थानीय नारायण डाँगी समेतका १० देखि १५ जनाको समूहले बाटो ढुकेर योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको उल्लेख गर्नुभएको छ ।

एता बाँके प्रहरीले घट्नामा संलग्न भएका चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले युवा संघ नेपाल बाँकेका अध्यक्षसमेत रहनुभएका राप्ती सोनारी-२ का वडाअध्यक्ष ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा चार जनालाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

Previous articleनेपालले यू-१९ क्रिकेट विश्वकप आयोजना गर्ने
Next articleविद्युत वितरण केन्द्र नेपालगञ्जका १ सय ३२ जनाले गरे रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here