
नरैनापुर । नरैनापुरस्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूह खोदावामा नयाँ कार्यसमिति चयन भएको छ । सम्पन्न निर्वाचनबाट बन्दना सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
निर्वाचनबाट उपभोक्ता समूहको उपाध्यक्षमा चित्र कुमारी परियार, कोषाध्यक्षमा जगराना यादव, सचिव पदमा अभिमन्यु सिंह र सहसचिवमा मनमाया परियार चयन भएको निर्वाचन अधिकृत तथा नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी गराउनुभयो ।
त्यस्तै सदस्यहरूमा क्रमशः रूक्साना पठानिन, जदुरा लोधिन, केवलराम यादव, धनीराम यादव, रामकिशोर शर्मा, खलिल खाँ, मन्शाराम कहार, हनिफ खाँ, परसु पासी, विमला तमोली, रामकिशोर यादव, प्रमोदकुमार सिंह निर्विरोध निर्वाचित हुनुभएको छ ।
अध्यक्ष, कोषाध्यक्ष तथा सचिव पदको लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार नन्कु अहिरले ९७ मत प्राप्त गरेका थिए भने विजयी भएकी अध्यक्ष पदमा बन्दना सिंह १ सय ७७ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, कोषाध्यक्ष पदकी अर्को उम्मेदवार नन्का कुम्हारिन ६२ मत प्राप्त गर्नुभयो भने विजयी भएकी कोषाध्यक्ष जगराना यादवले १ सय ८० मत प्राप्त गर्नुभएको थियो । सचिव पदको अर्को उम्मेदवार रिना देवी मिश्र १ सय ७ मत प्राप्त गर्नुभयो भने सचिव पदमा विजयी भएको अभिमन्यु सिह १ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई गाउँपालिकामा सपथ ग्रहण र प्रमाणपत्र प्रदान गरिएको थियो । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाह नयाँ उर्जा र जोश जाँगरका साथ काम गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
सामुदायिक वनमा हुने अनियमिता अवैध फडानी र चोरी निकासीलाई नियन्त्रण गर्दै सामाजिक कार्यमा पनि काम गर्नुपर्नेमा प्रमुख शाहले जोड दिनुभयो । 





