
नेपालगञ्ज । नेपालगञ्जका बालिकाहरुले उपमेयरसंग आफ्ना कुराहरु राखेका छन् । सोमबार नेपालगञ्जकी उपमेयर उमा थापा मगलरलाई यहाँका किशोरीहरुले आफ्ना कुराहरु राखेका हुन ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहने क्रममा नेपालगञ्जकी उपमेयर थापाले सोमबार बालिकाहरुका लागि समय छुट्याएपछि यहाँका किशोरीहरुले सहजरुपमा समुदाय, समाजमा बालिकाहरुमाथि भइरहने समस्या लगायत महिलासंग सम्बन्धीत कुराहरु राख्ने अवसर पाएका हुन ।
किशोरीहरु पनि हिंसाको शिकार हुनुपरेको भएपनि त्यो कुरा लुकाइने कारण तथा त्यसको प्रतिबाद गरे डरधम्की दिने जस्ता कुराहरुमा बालिकाहरुको जोड थियो । लैंगिक असमानता, महिला भएकै कारण भोग्नुपर्ने समस्या सम्बोधन हुन नसकेकोले सो कुराको सम्बोधनका लागि जनप्रतिनिधीहरुको समेत सक्रियता हुनुपर्नेमा बालिकाहरुले ध्यानाकर्षण गराएका छन् ।
सो क्रममा उपमेयर थापाले बालिकामाथि आइपर्ने समस्या समाधानका लागि बालिका आफै र स्थानीय तहले पनि आवश्यक समन्वय गनुृपर्ने र गर्नका लागि सहयोग गर्ने बताउनुभयो । बालिकाहरुमाथि हुने हिंसा, दुव्र्यहार, याताना जस्ता कुराहरुलाई नियन्त्रण गर्न एक ढिक्का भएर अगाडी बढ्नुपर्ने आवश्यकतामा समेत उपमेयर थापाले जोड दिनुभयो ।
नगर किशोरी संजालकी अध्यक्ष पुजा बर्माको सभापतित्वमा भएको कार्यक्रममा सिविन नेपाल नेपालगञ्जका प्रमुख सिद्धराज पनेरु, बाल क्लब संजालकी निवर्तमान अध्यक्ष अन्जना चतुर्वेदी लगायतले बालिकामाथि हुने हिंसाका कुरालाई नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरुबारे धारणा राख्नुभएको थियो ।
सो अवसरमा किशोरीहरु नेलिशा गिरी, प्रेरणा गिरी, नविना देवकोटा र देव्यानी अधिकारी लगायतले वडा कार्यालयहरुमा तर्जुमा गरिएका कार्यक्रम, महिनावारीका समस्या, आत्मरक्षा तालिम तथा किशोरी संजालको स्थायित्वका लागि नेपालगञ्ज उपमहानगरपालिकाले स्वामित्व लिने कुराहरुमा प्रश्न, जिज्ञासा र आफ्ना धारणा राखेका थिए ।





