
नेपालगञ्ज । बाँकेमा एकै दिनमा करिब ३३ लाख बढीको अबैध सामान नेपालगञ्जबाट बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार एकै दिन नेपालगञ्जको विभिन्न स्थानबाट प्रहरीले सो मात्रा बराबरको भन्सार छलिको सामानहरु बरामद गरेको हो ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-४ को न्यूरोडबाट ११ क्विन्टिल चिनी र ढुवानीमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलि गरि ल्याइएको गाडीसहित करिब १० लाख ८८ हजार बराबरको सामान बरामद गरेको बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै सोमबार नै नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ को धम्बोझीबाट भन्सार छलिको कुर्ता सुरुवाल र बच्चाको जुत्ता प्रहरीले बरामद गरेको छ ।
अन्दाजी ४९ हजार ७ सय रुपैया बराबरको उक्त सामान रहेको प्रहरीले जनाएको छ । यसैगरी वडा प्रहरी कार्यालय नेपालगञ्जले धेरै मात्रामा अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ ।
भन्सार छलि गरेर ल्याइएको ११ लाख ८८ हजार रुपैयाँ बराबरको मोबाइल डिस्प्ले नेपालगञ्ज वडा नं-४ सल्यानी बंगलाबाट बरामद गरेको गरेको हो ।
प्रहरीका अनुसार १ हजार ८० पिस मोबाइल डिस्प्ले रहेको छ । बरामद गरिएका सबै सामानहरु कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जनाएको छ ।





