बाँकेमा चाडपर्व बिशेष सुरक्षा योजना लागू

नेपालगञ्ज । बाँके प्रहरीले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको छ । नजिकिँदै गएको चाडपर्वमा हुन सक्ने विभिन्न खाले घटना रोक्न र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित जिल्लामा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको हो ।

चाडपर्वलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो । उहाँले जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको पनि बताउनुभयो ।

विशेष सुरक्षा योजना लागू गर्न जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । सो अन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ ।

सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुन सक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्ने गरी सुरक्षा योजना तयार गरिएको एसपी कार्कीले बताउनुभयो ।

उहाँले पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोसाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स र क्वीक रिस्पोन्स टिम परिचालन गरिएको बताउनुभयो ।

सुरक्षा योजना अन्तर्गत नै बाँकेका तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । जमुनाहा नाका, नेपालगञ्ज बस पार्क र कोहलपुर बस पार्कमा सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous articleअन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाउँदै राप्तीसोनारी
Next articleबाँकेमा एकैदिन ३३ लाख बढीको अबैध सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here