नेपालगञ्ज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उहाँको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिनुभएको छ ।
उहाँको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गर्नुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेख्नुभएको छ,– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।
यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिनुभएको छ ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उहाँलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।