नेपालगञ्ज । समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण आउँदो २० र २१ मंसिर २०८१ (५-६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने भएको छ ।
धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको हाे । यसपटक आठ वटा सत्रमा छलफल गरिने नेपालगञ्ज कनक्लेभका निर्देशक जनक नेपालले बताउनुभयाे ।
कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ’ निर्देशक नेपालले भन्नुभयो, ‘गतवर्ष निकै गहन र अर्थपूर्ण बहसहरु भए । सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरु बढाएका छौं ।’
यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको उर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । बितेको वर्षहरूमा देखिएकाे जलवायु परिवर्तनका असरहरुका कारण हिमतालहरु फुट्ने, तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढेकाे बिषयहरू रहने छन् । नेपालगञ्ज कनक्लेभको अर्को सत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रीत हुनेछ ।
यसैगरी, हाम्रो शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र संचालन हुनेछ । शिक्षामा सुधारमा स्थानीय सरकारले गर्न सक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको छ । नेपालगञ्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ ।
सो सत्रमा नेपालले बर्षौदेखि भोग्दै आएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका बस्तुमा मूल्य बृद्धि (Value Add) का उपायबारे छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ ।
त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्न सक्ने नयाँ पर्यटकिय सर्किटबारे बहस हुने अपेक्षा आयाेजककाे छ ।
नेपालगञ्ज कनक्लेभ १० औँ धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । खेलकुद्लाई जोडेर अर्को महत्वपूर्ण सत्र छ, किन दौडिन्छ मानिस ? जहाँ म्याराथनको मात्र कुरा हुने छैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ ।, ह्याण्डसका अध्यक्ष टिएस ठकुरीीले भन्नुभयाे ।
साहित्यमा यसपटक नेपाली आख्यानबारे चर्चा हुनेछ । जहाँ साहित्यको ऐनामा समाज कति अट्न सक्यो बहस हुनेछ । कनक्लेभमा यसपटक राजनीतिक सत्र पनि थपिएको छ । खासगरी पछिल्लो समय हुर्किंदै गएको निराशाको अन्र्तय खोतल्ने प्रर्यत्न हुनेछ ।
साथै, निराशालाई चिरेर नयाँ आशा र उत्साह जगाउन राजनीतिक नेतृत्वसँग के योजना छ, बहस हुनेछ । कनक्लेभमा हुने छलफलले आमसरोकारका मुद्दामा सार्वजनिक बहसको प्रबद्र्धन हुने र प्रकारान्तरले त्यसको लाभ समुदायले प्राप्त गर्ने विश्वास निर्देशक नेपालको छ ।
कनक्लेभका दुबै दिनकाे शुभारम्भ विद्वत प्रवचनबाट हुने छ भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुनेछन् । कनक्लेभका सत्र शीर्षक र वक्ताहरु छिट्टै सार्वजनिक गरिनेछ । २२ मंसिरमा १०औँ धारा नेपालगञ्ज म्याराथनको घोषणा भइसकेको छ । कनक्लेभ र म्याराथनका कारण मंसिर २०, २१ र २२ गते नेपालगञ्ज उत्सवमय हुने विश्वास आयोजकले लिएको छ ।