लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु गरेको छ ।

समुदायस्तरमा डेंगी महामारीका रुपमा फैलिएपछि त्यसको नियन्त्रणका लागि नगरका २३ वटै वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयाे ।

नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानहरुमा बायोपेस्टिसाइड छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयाे । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ ।

त्यसक्रममा नगर प्रमुख विष्टले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयाे । नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ४२ जना छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले निरन्तररुपमा डेंगी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । सचेतना प्रबद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेको जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताउनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले डेंगी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई उपमहानगरपालिकाले अभियानकै रुपमा अगाडि बढाएको बताउनुभयाे ।

विश्व स्वास्थ्य संगठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविक साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो ।

यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ । ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक रिमालले बताउनुभयाे ।

Previous articleयातायात सर्ने विषयमा उपमहानगरपालिकाले यसाे भन्याे ! विज्ञप्तिसहित
Next articleमंसिर २ गतेदेखि हुने हडिया बाबा मेलाको तयारी पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here