
नेपालगन्ज । परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानीय धार्मिक पर्यटकीयस्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको छ ।
आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो ।
अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो ।
‘कुनै बेला राप्ती नदी घाटमा भण्डारा सञ्चालन हुने क्रममा ध्यू खतम हुँदा योगीराज हडिया बाबाले गंगा माताबाट जल लिएर भण्डारा सञ्चालन गर्नुभएको थियो, अध्यक्ष बैश्यले भन्नुभयो, संचालनको अर्को दिन नेपालगन्ज बजारबाट घ्यू लगी नदीमा प्रवाह गरेको किंवदन्ती छ ।
हाल श्री हडिया बाबा आश्रमको सरसफाईदेखि लिएर मेला तथा धार्मिक श्रीरामलीला मञ्चनमा गरिने सम्पूर्ण तयारीको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको अध्यक्ष वैश्यले बताउनुभयो ।
अध्यक्ष वैश्यले मंसिर ४ गते आयोजना हुने श्री १००८ हडिया बाबाको शोभा यात्रामा समेत सम्पूर्ण बाँकेबासीहरुलाई सहभागिता जनाउन तथा प्रत्येक दिन हुने मेलामा सहभागिता जनाई पुण्यलाभ लिन समेत अनुरोध गर्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा हडिया बाबा आश्रम कार्य समितिका महासचिव बेचनलाल गुप्ता, सदस्य बृजेशबहादुर सिंह, ललित पौडेल तथा हडिया बाबा आश्रमका पुजारी सोम गिरी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको समितिका प्रेस संयोजक चन्द्रेश्वर राज त्रिपाठीले बताउनुभयो ।






