
नेपालगन्ज । नेपालगञ्जमा फुटपाथ व्यवस्थित गर्ने कार्य सानालाई मात्र कानुन भन्ने देखिएको छ । नेपालगञ्जमा जोसुकैले फुटपाथलाई व्यवसायीक रूपमा प्रयोग र सामान राखेको पाईए कारबाही गर्ने उपमहागरको निर्णय सानालाई मात्रै लागू गरेको देखिएको हो ।
यहाँका विभिन्न क्षेत्रमा सडक फुटपाथ खुल्लारूमा अतिक्रमण भएको छ तर मेयरदेखि वडासदस्यसम्मका स्थानीय सरकारको नेतृत्व गर्नेहरू आँखा पुगेको देखिँदैन । सडकपेटी व्यवस्थित गर्ने सवालमा नियम मिच्ने सबैलाई कारबाही हुनुपर्ने भएपनि सामान्य काम गरेर जीवन निर्वाह गर्नेहरूलाई मात्र उपमहानगरले कारबाही गर्ने गरेको त्रिभुवन चोकका एक व्यापारीले भने ।
घरबारी टोलमासमेत मानिस हिड्ने फुटपाथ सडकपेटी व्यापारीको कब्जामा छ । तर हालसम्म नत नगरप्रहरी, नत स्थानीय सरकारको आँखा त्यहाँ पुगेको छ । हिड्न बनाएको फुटपाथ हिँडडुल गर्नै गारो हुनेगरी व्यापारीहरु सडकको फुटपाथमा सामान फिजाएर राख्नाले पैदलयात्रीहरुलाई सास्ती भएको छ ।
उपमहानगरालिकाले फुटपाथ खाली गर्ने निर्णयपत्र देखाउँदा पनि व्यापारीहरु सो नियम उल्लंघन गर्दै अट्टेरी गरेको देखिन्छ । नेपालगञ्ज शहरकै व्यस्त सडकमा गनिने घरबारी टोलको व्यापारीको यो हर्कतले बजारको सौन्दर्यमा असर त पारेको छ नै, सर्वसाधारण मानिस आफ्नो ज्यान जोखिममा राखी सडकमा यात्रा गर्नु परेको एक व्यापारी स्वयंले भने ।
‘घरबारीटोलका व्यापारीहरु आफू हामी हिड्ने बाटोमा सामान राख्छन् अनि हामीले सांघुरिएर हिडेपनि शरीरले उनीहरूको झुण्डिएको सामानमा छुइदा आफूले गाली सुन्नु पर्छ ।’ एक पैदलयात्री तारामान खड्काले भन्नुभयो ।
बेला बेला नगर प्रहरीले गरेको फुटपाथ हटाउने कार्य देखाउनका लागि मात्रै सर्वसाधारणको गुनासो छ । डियूटीमा रहेको एक नगर प्रहरीले स्वयं आफुहरुलाई कडा आदेश नभएका कारण व्यक्तिगत रिसिइबी किन गर्ने भनेर हामीले नदेखेझैं गर्छौं, भने ।
यत नेपालगञ्जका नगर प्रहरी ईन्चार्ज, प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीले फुटपाथ व्यवस्थापनका लागि कडा निर्देशन दिएको बताउनुहुन्छ । फुटपाथ खाली गर्न सार्वजनिक सूचना जारी गरिएकाले सो सूचनाबिरूद्व जानेलाई कारबाही गरिने उहाँले प्रतिक्रिया दिनुभयो ।
‘कारबाही सबैलाई गरिने हो,’ ईन्चार्ज बोगटीले भन्नुभयो, ‘पहिलो चरणमा सूचना जारी गरिएको छ, दोस्रो चरणमा अट्टेरी गर्नेलाई कसैलाई पनि छोड्दैनौं ।’ गस्तीमा रहेको नगर प्रहरी दिनहु ठेलाको सामान उठाउन तयार हुन्छ तर ठुला व्यापारी अगाडी मुकदर्शक हुन्छ । नगर प्रहरीका सकेण्ड म्यान पवन कनोजियाले प्रहरी कहीँ पनि त्यस्तो नभएर अट्टेरी गर्नेलाई कारबाही गरिरहेको बताउनुभयो ।
नेपालगञ्जको धम्बोजी चोकदेखि बागेश्वरी मन्दिरसम्मको मुख्य बजार क्षेत्र घरबारी टोलमा व्यवस्थित गर्न एकतर्फी सवारी पार्किङको व्यवस्थासमेत गरिएपनि मनपरी ढंगले सवारी पार्किङ र व्यापारीहरूको पसलमा अव्यवस्थित सामान फुटपाथमा फिजारिदिँदा पैदलयात्रीलाई हिड्न समस्या परेको हो ।
एक त घरबारी टोलको फुटपाथ साँघुरो छ, त्यहीँ पनि यहाँका व्यापारीहरूले फुटपाथको अधिकांश भाग छेकिने गरी सामान झुन्ड्याउने र सामान राखिदिने कार्यलाई सडकमै हिड्न बाध्य पैदलयात्री सानालाई ऐन, ठुलालाई चैन, को संज्ञा दिन्छन् ।





