
बारबर्दिया । बारबर्दिया नगरपालिकाले यस बर्ष ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
मंगलबार नगरस्तरीय बालअधिकार समितिको बैठक बसी बाल विवाह मुक्त वडा घोषणाका लागि कार्यदल गठन गरी पाँच दिन भित्र चार वटै वडामा अनुगमन गरी कार्यपालिकामा बुझाउने निर्णय गरेको छ ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५,६ र ७ लाई बाल विवाह मुक्त घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बाल अधिकार समितिका सदस्य तथा महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख उशा पुनले जानकारी दिनुभयोे ।
बारबर्दियाकी सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीको संयोजकत्वमा शिक्षा शाखा, स्वास्थ्य शाखा, प्रहरी, बाल अधिकार सम्बन्धी काम गर्ने संस्था, बाल क्लकका प्रतिनिधि र महिला बालबालिका शाखा प्रमुख सदस्य सचिव रहने गरी ७ सदस्सीय बाल विवाह मुक्त वडाका लागि पालिका स्तरीय अनुगमन तथा मुल्याँकन समिति गठन गरिएको हो ।
अनुगमन गर्दा वडाको प्रत्येक टोल नछुट्ने गरी जोखिम युक्त टोलमा अनुगमन गर्ने वडाबाट र प्रहरीबाट प्राप्त सूचना अधिकारिकरुपमा सम्बन्धित निकायबाट प्रदानको लागि अनरोध गर्ने निर्णय गरेको छ ।
बारबर्दियामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसंगै बाल विवाह मुक्त वडा घोषणा गर्नका लागि तयारी कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
जसमा बाल बालिका सम्बन्धि काम गर्ने संस्था भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका संस्थाहरुले सहयोग तथा सहकार्य गर्ने छन् ।
बाल अधिकार समितिका संयोजक तथा बारबर्दियाकी नगर उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख छबिलाल थारु, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आर्चाय, शिक्षा, स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






