
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं.-६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र मोहम्मद हारुनको टोलीले अनुगमन गरेको हो ।
ओभरलोड बोकेर टिपर गुडेका कारण भोटासिल सडकमा खाल्डाखुल्डी भएपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताउनुभयो ।
उक्त सडकको किनारमा २ सय ५० मिटर नाली निर्माणको काम शुरु भइसकेको जानकारी दिँदै वडाध्यक्ष मिश्रले नाली निर्माण पुरा भएपछि सडक कालोपत्रे गर्न शुरु गरिने जानकारी दिनुभयो ।
अनुगमनका क्रममा नाली निर्माणको शुरुवाती चरणको काम सन्तोषजनक देखिएको छ । तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गर्नुभएको एमाले केन्द्रीय सदस्य मिश्रले बताउनुभयो ।
जसअन्तर्गत ५७ लाख १७ हजार ३ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता भइ काम शुरु भएको हो । उक्त सडक निर्माणको जिम्मेवारी पाएको राप्ती गणेश कन्स्ट्रक्शनले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अनुगमन टोलीमा एमालेका गाउँ इकाई कमिटी अध्यक्ष ओरीलाल मुराउ, नेता अशोक थापा क्षेत्रीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।





