पूर्ण सरसफाई युक्त टोल बनाउन वास च्याम्पियन तयार

नेपालगञ्ज । पूर्ण सरसफाईयुक्त टोल बनाउन वास च्याम्पियन तयार गरिएको छ । बर्दियाका टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोलका रुपमा बिकास गर्नका लागि वास च्याम्पियनलाई तयार गरिएको हो । उनीहरुलाई पूर्ण सरसफाई टोल, समाज बनाउन आवश्यक ज्ञान सीप प्रदान गरिएको हो । गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले नेपालगञ्जमा तीन दिने तालिमको आयोजना गरी बर्दियाका करिब १५ जनालाई वास च्याम्पियनका रुपमा तयार गरेको छ ।

स्थानीय सरकारको समन्वय सहकार्यमा बर्दियाका चार वटा गाउँ, टोललाई पूर्ण सरसफाई युक्त नमूना समुदाय बनाउन स्थानीयलाई वास च्याम्पियनका रुपमा तयार गरिएको संघ बाँके शाखाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो । नेपालगञ्जमा आयोजना गरेको तालिममा पूर्ण सरसफाई, स्वच्छता प्रवद्र्धन र महिनावारी स्वच्छता व्यवस्थापनका बारेमा आवश्यक ज्ञान सीप प्रदान गरिएको छ । पूर्ण सरसफाई गाउँ, टोल निर्माणमा स्थानीय तह एव स्थानीय टोलबासीलाई सक्रिय बनाउनका लागि च्याम्पियनले सहयोगी भूमिका निर्वाह गर्ने छन् ।

संघले यो वर्ष बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नं ४ र ५ तथा ठाकुरबाबा नगरपालिकाको वडा नं ४ र ५ का केही गाउँ, टोललाई नमूना बनाउने उद्देश्य लिएको छ । नेपाल सरकारको पूर्ण सरसफाई कार्यक्रमलाई सफल बनाउन यस्तो कार्यक्रम गरिरहेको संस्थाले जनाएको छ । पूर्ण सरसफाई मार्गदर्शन २०७३ का अनुसार सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्नेतर्फ उन्मुख हुने उद्देश्य प्राप्तीका लागि बिभिन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ । सोही कार्यक्रम अन्तर्गत प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियाका केही वडाहरुमा यो कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक कौशलले बताउनुभयो ।

संघले यसअघि बाँकेको जानकी गाउँपालिका वडा नं २ को चौधरीपुरलाई पूर्ण सरसफाई कार्यक्रम संचालन गरिसकेको छ । सरसफाई मार्गदर्शनका अनुसार योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई गरी सात वटा सूचकभित्रका सहायक सूचकहरु पुरा भएपछि कुनै क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र भनी स्व–घोषणा वा प्रमाणीकरण सकिने छ ।

Previous articleडिसि एम सी बाँकेलाई स्वास्थ्य सामाग्री प्रदान
Next articleबाँकेमा क्षयरोगको संक्रमण बढदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here