
नेपालगञ्ज । गोपाल-नीना फाउण्डेशन, नेपालगञ्ज र जनमत अद्र्धसाप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’ गरिएको छ ।
जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं : जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६३ औं श्रृङ्खलामा शनिबार नेपालगञ्जमा गरिएको हो । कार्यक्रममा पाँच महिलासहित ५१ जनाले रक्तदान गरेको गोपाल-नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनुभयो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा.गौरव श्रेष्ठ र वरिष्ठ चिकित्सक डा.विनोद कुमार थापाले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी शुभारम्भ गरिएको थियो । कार्यक्रममा सहभागी हुने रक्तदाताहरुमध्ये स्वयम्सेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष डा.श्रेष्ठ, राप्ती सोनारी गाउँपालिका वडा नं.-६ का अध्यक्ष लवराज खरेल, नेपालगञ्ज एकीकृत भन्सार कार्यालयका प्रमुख करुणा चौधरी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.-१० का स्वास्थ्य शाखा प्रमुख भागीराम चौधरी, नेपालगञ्ज साइकल क्लबका अध्यक्ष समाजसेवी प्रदीप सापकोटा, अन्नपूर्ण पोष्ट दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, नियमित रक्तदाताहरु निरजमान श्रेष्ठ, खम्ब प्रसाद पुन, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, विनोद कुमार वैश्य, साहित्यकार अस्फाक संघर्ष, प्रहलाद विश्वकर्मा, मधु बोगटीले रक्तदान गर्नुभयो ।
सो रक्तदान कार्यक्रममा डा.थापा, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डे, दैनिक नेपालगञ्जका प्रधानसम्पादक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी (निशान), सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, कोषाध्यक्ष मनमोहन वर्मा, नेपालगञ्ज म्याराधानका संस्थापक टि.एस. ठकुरीलगायत करीब एक सय जनाको उपस्थिति रहेको थियो ।
विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको फाउण्डेसनका अधिकृत विपुल वर्माले जानकारी दिनुभयो ।





