बारबर्दियाकाे ७ नम्बर वडा बाल विवाहमुक्त घोषणा

बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ७ लाई एक समारोहकाबिच बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले वडा नम्बर ७ लाई बाल विवाह मुक्त वडा घोषणा गर्नु भएको हो ।

बारबर्दिया नगरपालिकामा वडा नम्बर ७ दोस्रो बालविवाह मुक्त वडाको रुपमा घोषणा भएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले बाल विवाहको दर शुन्यमा झार्नुपर्ने बताउनु भयो ।

विशेष गरी स्थानीय नागरिक, अगुवा, अभिभावक तथा आफु स्वयम लागेर बालविवाह शुन्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । नागरिकबाट भोट लिएर नीतिगत तहमा पुगेका जनप्रतिनिधिलाई आफैले बनाएको कानुनको कार्यान्वयन गराउन दवाब दिँदै मतदाताको जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।

बारबर्दिया नगरपालिकाले सबै राजनैतिक दल, संघसंस्था स्थानीय नागरिक, अभिभावक लगायतलाई मिलाएर बालविवाह शुन्य पालिका बनाउने धारणा राख्नु भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार थारुले बालविवाह अन्त्यका लागि बालबालिकाको अभिभावक तथा गाँउका अगुवाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । अभिभावकहरुले चाहे आफ्ना बालबालिकालाई विवाह गर्नबाट रोक्न सक्ने उहाँको विश्वास छ ।

फरक प्रसंगमा बोल्दै थारुले यातायात कार्यालय बारबर्दियामा ल्याउनु पर्ने बताउनु भयो । यातायात कार्यालय बारबर्दियामा ल्याउन सके नगरले जग्गा उपलब्ध गराउन सक्ने उल्लेख गर्नु भयो । यसका लागि नगरप्रमुख संग एकचरणको कुरासमेत भएको बताउनु भयो ।

बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले २०८३ सम्ममा ११ वटै वडा बालविवाह मुक्त गरी पालिका नै घोषणा गर्ने लक्ष्य रहेको बताउनु भएको छ । नगरप्रमुख थारुले समुदायमा फर्च्याैट भन्ने चलनले समाजमा नाकारात्मक असर पारी रहेको प्रष्ट पार्नुभयो । यो प्रथालाई रोक्न अभिभावक स्वयं लाग्नुपर्ने बताउनु भयो ।

अभिभावकको जानकारीमै छोरा छोरीले भेट्ने बस्ने कम समयमा बुहारी भित्र्याउने र पछि समय पुगेपछि जन्मदर्ता बनाई विवाह दर्ता समेत बनाउने गरेको खुलाशा गर्नु भयो । यस्तो क्रियाकलापलाई रोक्न सम्पुर्ण नगरबासीलाई नगरप्रमुख थारुको आग्रह छ ।

सन् २०३० सम्म नेपाललाई बाल विवाहमुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगर पालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाहमुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत वडा नम्बर ७ लाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशतभन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाहमुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताउनु भयो ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक मानसिंह बिश्वकर्मा, भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपका अध्यक्ष डाक्टर ईन्द्र बहादुर भण्डारी लगायतले सफलताको शुभकामना दिनु भयाे । साथै यस बाल विवाह न्युनिकरण अभियान निरन्तरताका लागि काम गर्ने बचनबद्धता गर्नु भयाे ।

बारबर्दिया नगारपालिका वडा नम्बर ७ का अध्यक्ष इन्द्र प्रसाद चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा वडाभित्रका सहकारी, सामुदायिक बन, विद्यालय, सामाजिक संघसस्थाको सहकार्यमा भएको छ । घोषणासभा कार्यक्रममा बिभिन्न किसिमका साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियाे ।

प्लान इन्टरनेशनल नेपाल भेरी वातावणीय विशिष्टता समुह (बि ग्रुप) र राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सस्थाहरुले निरन्तर बाल विवाह न्युनिकरणका कार्यक्रम संचालन भएपश्चात बालबिवाह मुक्त वडा घोषणा सम्भव भएको हो ।

बाल विवाह न्युनिकरणका लागि बि ग्रुपले नगर, वडा तथा समुदायमा बिभिन्न किसिमका सचेतनाकुलक कार्यक्रमहरु गरेपछि हाल बारबर्दियामा २ वटा वडा बाल विवाह मुक्त घोषणा भएको छ भने बाँकी २ वटा वडालाई यसै बर्ष नै घोषणा गर्ने कार्यक्रम रहेको छ ।

Previous articleलुम्बिनी प्रदेशमै नमूना सहकारी बन्दै साकार, अध्यक्षमा ओली निर्वाचित
Next articleजसपा नेपाल बाँकेद्वारा जिल्ला समिति बिस्तार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here