
नेपालगञ्ज । आवश्यक सामाग्रीको अभावका बिच सेवा प्रवाह गरिरहेको नेपालगञ्ज मनिकापुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
स्वास्थ्य चौकीले प्रसुती सेवा कक्षमा सामाग्रीको अभावमा काम गरिरहेको सूचनापछि बागेश्वरी असल शासन क्लब नेपालगञ्जको अगुवाईमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
बासका सहजकर्ता शोभा थापा मगर, कार्यक्रम सहायक शुद्ध प्रसाद चौधरी, ईन्र्टन श्रुती चौधरी र रोटरी क्लब अफ सेन्टर नेपालगञ्जका अध्यक्ष पुरन थारु, उपाध्यक्ष माधवी शाहले वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, स्वास्थ्य चौकी ईन्चार्ज बिरजंग शाह र स्वास्थ्य चौकीका अनमी आशा सार्कीलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय, बाँके, बास नेपालगन्ज, रोटरी क्लब अफ सेन्टल नेपालगन्जको सहयोगमा हस्तान्तरण गरिएको सामाग्रीहरुमा १२ थान पिपिई, ७ थान न्यानो कम्बल, २०० पिस सर्जिकल मास्क, २ थान हिटर सहयोग रहेको छ।
मनिकापुर स्वास्थ्य चौकीमा जानकीको बेलहरी, कारकाँदो, बसुदेवपुर र मनिकापुर लगायतका स्थानबाट गर्भवति महिलाहरु प्रसुतीका लागि आउने गर्दछन् ।
चालु आर्थिक बर्षको साउनदेखि हाल सम्म १०९ जना गर्भवति महिलाले प्रसुती सेवा लिईसकेको स्वास्थ्य चौकीका अनमी आशा सार्कीले बताउनुभयो ।





