
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ । गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरेर वडा नम्बर ४ बैजापुरका १० परिवारलाई जग्गा धनी पुर्जा प्रदान गरिएको हो ।
वर्षौंपछि स्थानीयले आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । पुर्जा पाएसँगै स्थानीय खुशी भएका छन् । जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा वडा कार्यालय बैजापुरमा आयोजित कार्यक्रममा लाभग्राही परिवारलाई प्रमाणपुर्जा हस्तान्तरण गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी र राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
प्रमाणपुर्जा प्राप्त गर्नेमा भीमबहादुर विष्ट र दिपा विष्ट, चेतप्रकाश दमाई र निर्मला दमाई, जंगे कामी र कलि कामी, विस्णी दमाई र मंसराम दमाई, केशरी घर्ती मगर र देविराम घर्ती मगर रहेको वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले जानकारी दिनुभयो ।
वडा अध्यक्षका अनुसार दुर्गाबहादुर पुन र मनुदेवी पुन, टंकबहादुर मल्ल र विष्णुदेवी मल्ल, जानकी विष्ट र छविलाल विष्ट, वीरबहादुर घर्ती मगर तथा सीताकुमारी कुम्हार र पुरन कुम्हारले पनि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा सांसद चौधरी, गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख जिल्ला अधिकारी तामाङ र वडाध्यक्ष खड्काले संयुक्त रूपमा लाभग्राहीलाई प्रमाणपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।






