
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले यही शुक्रबार ४ गते ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार-२०८३’ प्रदान गर्ने तयारी गरेको छ । बाँकेमा क्रियाशिल महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकारितामा क्रियाशिल रहनको लागि हौसला प्रदान गर्ने उद्देश्यले संचालन गरिएको ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार-२०८३’ मा उत्कृष्ट तीन महिला पत्रकारलाई पुरस्कृत गरिनेछ ।
जसमा प्रथम हुने ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न स्थान हासिल गर्ने महिला पत्रकारहरुलाई नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुधान्शु कोइराला र सिता काफ्लेले पुरस्कृत गर्ने नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले बताउनु भयो ।
महिला पत्रकारलाई लक्षित गरेर नेपाल प्रेस युनियन बाँकेले सुरु गरेको ‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार-२०८३’ ले बाँकेमा क्रियाशिल महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा सक्रिय भएर काम गर्न उर्जा थप्ने काम गर्ने अध्यक्ष खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले यो कार्यक्रमलाई विशेष महत्वको साथ आयोजना गरिरहेको छौं । यस वर्ष थप परिस्कृत गर्दै महिला पत्रकारलाई यो कार्यक्रममा सहभागिताको लागि हामीले खुला रुपमा आव्हान गरेका थियौं । उहाँहरुको पनि उत्साह जनक रुपमा सहभागिता रहेको थियो ।’
‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार-२०८३’ प्राप्त गर्नको लागि यस वर्ष आयोजक नेपाल प्रेस युनियन बाँकेले समाजमा सकारात्मक परिर्वतन, सफलता र प्रेरणा दिने महिलाहरुको प्रोफाइल तथा फिचर लेखनको लागि विषय वस्तु छनोट गरेको थियो । उक्त विषयमा बाँकेका करिब १ दर्जन महिला पत्रकारले प्रोफाइल तथा फिचर उत्पादन गरेर पठाएका थिए । सोही आधारमा नेपाल प्रेस युनियनको छनोट समितिले उत्कृष्ट महिला पत्रकार पुरस्कार प्राप्त गर्ने पत्रकारलाई छनोट गरेको थियो । यसरी उत्कृष्ट भएका महिला पत्रकारहरुको प्रोफाइल स्टोरी तथा फिचरलाई युनियनले प्रकाशन गर्ने बुलेटिनमा प्रकाशित गर्दै आएको छ ।
युनियन बाँके अध्यक्ष खत्रीले पत्रकारहरुलाई यस्ता लेखन अभिवृत्ति कार्यक्रमले महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो कार्यक्रमले महिला पत्रकारलाई नयाँ विषयवस्तु र क्षेत्रमा अध्ययन गर्न, लेख्न अभिप्रेरित गर्छ । लेखनका आधारमा नगद पुरस्कार पनि पाउने भएकोले थोरै भएपनि आर्थिक रुपमा यसले सहयोग गर्छ । यस कार्यक्रम मार्फत पत्रकारितामा क्रियाशिल भएर काम गरिरहेको पत्रकारलाई थप सक्रिय बनाउने हाम्रो उद्देश्य हो ।’
‘महिला पत्रकार लेखनवृत्ति पुरस्कार–२०८३’ को आयोजनाका क्रममा प्राप्त भएका सुझाव र सल्लाह अनुसार आगामी वर्ष देखि थप नयाँ ढंगले आयोजना गर्ने पनि युनियनले तयारी गरिरहेको अध्यक्ष खत्रीले बताउनु भएको छ । युनियन बाँकेले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा पत्रकारिताको विकासको लागि हरेक वर्ष विभिन्न गतिविधिहरु आयोजना गर्दै आएको छ ।






