नेपालगञ्ज नाकाबाट जडीबुटी निकासीमा वृद्धि

नेपालगञ्ज । चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा नेपालगञ्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको छ ।

चालु आवको साउनदेखि मंसिरसम्म यस नाकाबाट रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेलको निर्यात अत्यधिक बढेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा रिट्ठा ४२१ प्रतिशत, तार्पिन तेल २३२ प्रतिशत, खोटो ८३ प्रतिशत र खयर कत्था ११ प्रतिशत वृद्धि भएको छ ।

भन्सार कार्यालयका अनुसार गत आवको पाँच महिनामा नेपालगञ्ज नाकाबाट १४ करोड ५५ लाख ८० हजार रुपियाँको खोटो निर्यात भएकोमा चालु आवमा २६ करोड ७४ लाख ८८ हजार रुपियाँको निकासी भएको छ ।

यसैगरी गत आवमा १५ करोड ८७ लाख ५० हजारको खयर कत्था निर्यात भएकामा चालु आवमा १७ करोड २६ लाख ३२ हजार रुपियाँको निकासी भएको छ ।

सोही प्रकारले गत आवको पाँच महिनामा ३६ लाख ४४ हजार रुपियाँको रिट्ठा निर्यात भएकामा चालु आवको हालसम्म एक करोड ९० लाख सात हजार रुपियाँको रिट्ठा निकासी भएको छ ।

यस्तै तार्पिन तेल गत आवको पाँच महिनामा दुई करोड ५३ लाख ५८ हजार रुपियाँको निर्यात भएकामा चालु आवको सोही अवधिमा सात करोड दुई लाख ७७ हजार रुपियाँको निर्यात भएको छ ।

रिट्ठा, खोटो, खयर कत्था र तार्पिन तेल जस्ता जडीबुटी र तेलको निर्यात फेरि एक पटक वृद्धि हुन थालेपछि व्यवसायी उत्साहित भएको बताइएको छ । गोरखापत्रबाट

Previous articleहुम्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध
Next articleबाँकेको डुडुवामा डाँकाहरुको समूहद्वारा एक घरमा लुटपाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here