
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-२ बेतहनीको एक घरमा गएराती डकैती भएको छ ।
बेतहनीका सन्तोष सोनीको घरमा गएराती (मंगलबार) ११ बजेको समयमा २५ जनाको समूहमा आएका डाँकाहरुले लाखौंको धनमाल लुटेर लगेका छन् ।
उनीहरुले सोनीको घरबाट करिब ३० लाख बराबरको धनमाल लुटेर लगेको पिडितले जानकारी दिनुभएको छ । हतियारसहित आएका सबै डाँकाहरुले पुरुषहरुको हात बाँधेर घरको खानतलासी गरेर गरगहना लगायतका सामान लुटेका हुन् ।
घर पछाडीबाट छिरेका डाँकाहरुको समूहमध्ये १५ जना घरभित्र पसेको र अन्य १० जना बाहिर बसेर पहरा दिएको पिडितले बताउनुभयो ।
दुई जना किशोरी, तीन जना किशोरसहित आठ जना रहेको परिवारमा कसैलाई केही नगरेपनि परिवारका पाका व्यक्तिहरुको हात बाँधेर डाँकाहरूले लुटपाट गरेका थिए ।
पाँच सय मिटरकै दुरीमा रहेको प्रहरीलाई डाँकाहरुले लुटपाट गरेको भनेर सम्पर्क गर्दा फोन नउठाएको पिडित सोनीले बताउनुभयो । बारम्बार फोन गर्दा पनि प्रहरीले फोन नठाएको भन्दै पिडितले डकैतीमा प्रहरीसमेतकाे मिलोमतो रहेको आशंका गरेका छन् ।
यता घट्नाबारे थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताको सम्पर्क नम्बरमा सम्पर्क गर्दा फोन उठेन् ।





