
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ सुरु भएको छ । उद्योेग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नेपालगन्जमा डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गर्नुभएको हो ।
नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीति र आर्थिक रुपमा गतिशील बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा नेपालगन्जमा प्रदर्शनीस्थल बनाउन सडक विभाग परिसरको १० विघा जग्गा नेपालगन्ज उद्योेग वाणिज्य संघलाई लिजमा दिएको स्मरण गर्दै आफू सत्ताबाट हटे लगत्तै सरकारले लिज फिर्ता लिएकामा चिन्ता गर्दै पुुनः जग्गा प्राप्तीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नै नेपालगन्ज गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले देशमा केही पनि पनि विकास नभएको र नेताहरुलाई गाली गर्ने गलत प्रवृत्ति रहेको बताउनुभयो । उनले बहुदलीय व्यवस्था यता देशका कुनाकाप्चामा विकासको पुगेको दाबी गर्नुभयो । अर्का प्रतिनिधिसभा सदस्य दीपा शर्माले भने संघीयतापछि नेपालगन्ज मारमा परेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि आफूले हातेमालो गरेर अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरीले त प्रमुख अतिथि प्रचण्डको ध्यानाकर्षण गराउँदै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले भन्सार दर परिवर्तन गर्न र आयात गरिने खाद्यान्न दैनिक उपभोग्य बस्तुमा कर नलगाउन पनि सरकारकोे ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयताले मारमा परेको नेपालगन्ज क्षेत्रको विकासमा संघीय सरकारले पनि बेवास्ता गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महोत्सवको सफलताको कामना गर्दै मिडियाले कभरेज गर्न सबै सञ्चारमाध्यम र पत्रकारसँग आग्रह गर्नुभयो । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला उपाध्यक्ष मन्दिरा पाण्डेको स्वागत मन्तव्य, महासचिव भीमबहादुर रानाभाट र परामर्शदाता ओविराज आचार्यले सञ्चालन गर्नुभएको थियो ।
महोत्सवको उद्घाटन हुनु अघि संघको त्रिभुवन चोकस्थित कार्यालय नजिकबाट सुरु भएर एक जोर हात्तीसहित, सांस्कृतिक, धार्मिक पहिचान, परम्परागत भेषभुषासहितको झाँकीबाट गरेर महोत्सव प्रदर्र्शनीस्थल सडक विभाग परिसरसम्म शोभा यात्रा गरिएको थियो । महोत्सवको पहिलो दिन जनवादी गायक जीवन शर्माले सिमली छाँयामा बसी, झरनाको चिसो पानी, मधेशी पहाडीजस्ता आधा दर्जन गीत गाउनुभएको थियो । अर्का गायक भगिरथ चलाउनेले पनि फलाम पिटे तरवार जस्ता गीतबाट मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
महोत्सव प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको बेजोड सांस्कृतिक प्रस्तुती हुनेछ । एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुँदैछ । आगामी २२ माघसम्म सञ्चालन हुने महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल,सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् ।
महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह–आयोजक नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश रहेको छ । क्यान महासंघ बाँकेले सहकार्य गरेको छ । मुख्य प्रायोजक के.एल.दुगड ग्रुप रहेको छ । त्यसैगरी महोत्सवको प्रबद्र्धकमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र काठमाडौं, जिल्ला समन्वय समिति बाँके, नेपाल पर्यटन बोर्ड, बाँकेका ८ वटै स्थानीय तह (नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका) रहेका छन् ।





