यातायात सेवा कार्यालयको सेवा अब कोहलपुरबाट सुरु

नेपालगन्ज । बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालयको सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरी सेवा सुरु भएको हो ।

मन्त्री न्यौपानेले उद्घाटन गर्ने क्रममा बोल्दै संघीयताको आवश्यकता र अनुभूती दिलाउन प्रदेश सरकारले सेवा विस्तार गरेको बताउनुभयो । उहाँले यातायात व्यवस्थामा प्रविधिको प्रयोग र सेवा विस्तार गर्ने र उच्चस्तरीय सिसीटिभी जडान गरेर नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशनसमेत दिनुभयो ।

यस्तै लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीले कोहलपुरमा यातायातको शाखा कार्यालय स्थापना भएसँगै कोहलपुरसहित छिमेकी बैजनाथ र राप्तीसोनारीका सेवाग्राहीहरुलाई फाइदा पुगेको बताउनुभएको थियो । उहाँले सेवाग्राहीले कर तिर्दा समेत लाइन लाग्नुपर्ने अन्त्य गरी यातायातको सेवालाई प्रविधिमैत्री बनाउन चौधरीले सुझाव दिनुभयो ।

यस्तै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णा केसी नमूनाले कोहलपुरमा सरकारी कार्यालयको विस्तार आवश्यक रहेको बताउनुभयो । एकात्मक प्रणालीबाट मुलुक संघीयतामा गइसकेकाले सेवाहरुलाई पनि विकेन्द्रीकरण गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताउनुभएको थियो ।

यस्तै प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले यातायात कार्यालयको शाखा स्थापना भएसँगै कोहलपुरमा विकासको अर्को इट्टा थपिएको बताउनुभयो । उहाँले अन्य सरकारी कार्यालयहरु पनि कोहलपुरमा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो । कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ ।

Previous articleयुवा सवालमा उपमहानगरको छैन ध्यान
Next articleसडक विभागको जग्गा पुनः प्राप्तीमा पहल गर्ने प्रचण्डको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here