
नेपालगन्ज । नक्कली जग्गा धनीको श्रेस्ता बनाई बैंकमा राखी रकम ठगी गर्ने ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ठगी कार्यमा संलग्न काभ्रेपलान्चोकको बनेपा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय गौरव कार्की, सोही स्थानका ३५ वर्षीया इश्वरी माया रोका र बाराको जितपुर नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय दिलिप कुमार सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ बस्ने रेशमा श्रेष्ठको नाममा बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ मा दर्ता रहेको कित्ता नम्बर ९५१ र ९५२ को ११०६० दशमलव ३८ वर्ग मिटर जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंकबाट १ करोड बढी रकम कर्जा लिइ ठगी गरेका छन् ।
करिब ३३ कठ्ठा उक्त जग्गाको उनीहरुले बैंकबाट १ करोड २० लाख कर्जा लिएका छन् । प्रहरीको सहयोगमा उनीहरुलाई काठमाण्डौंको बुद्धनगर रकोटेश्वरबाट माघ ८ गते पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिनुभयो । उनीहरुका बारेमा थप अनुसन्धान थालिएकोसमेत प्रहरीले जनाएको छ ।





