
नेपालगन्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ ।
शमशेरगञ्ज कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिनुभयो । बाघ र चितुवा जस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो ।
‘जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन।,’ उहाँले भन्नुभयो, ‘निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह पनि गरिएको छ ।’ क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने प्रम्ुख शर्माको भनाइ छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका भगवती सामुदायिक वनमा बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले बताउनभुयो । गत बुधबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
स्थानीयका अनुसार सो जङ्गलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायो भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वन नजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्छ ।






