
नेपालगन्ज । बाँकेमा एच.पि.भि.खोप अभियान २०८१ सम्बन्धि जिल्लाको खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीबीच अन्तर्तक्रिया गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले सोमबार नेपालगन्जमा एक कार्यक्रम आयोजना गर्दै अन्तरक्रिया तथा अभिमुखिकरण गरेको हो ।
सो क्रममा पाठेघरको मुखमा हुने क्यान्सर बिरूद्वको खोप ३६ हजार बढी किशोरीलाई लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो पटक जिल्लामा ६ देखि १० बर्षका स्कुल जाने ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । यसका लागि जिल्लामा ५ सय २४ वटा खोप केन्द्र तोकिएको छ ।
कार्यक्रममा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पान्डेले एच.पि.भि.खोप लगाउँदा स्वास्थ्यमा कुनै गम्भीर समस्या नहुने बताउनुभयो ।
उहाँले खोप लगाएपछि कसै कसैलाई समान्य समस्या आउन सक्ने र त्यस्ता समस्या आएमा नआतिएर चिकित्सकसंग सल्लाह लिनुपर्ने बताउनुभयो ।
बिश्वमा प्रत्येक २ मिनेटमा पाठेघरको मुखको क्यान्सरका कारण १ जनाको मृत्यु हुने गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले एच.पि.भि खोप लगाउने सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनुभएको थियो ।
पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिका विभिन्न स्थानमा लगाउने प्रमुख शाहीले बताउनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्कीलगायतको उपस्थिति रहेको कार्यक्रम लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको सहकारीमा गरिएको थियो ।





