
नेपालगन्ज । देशव्यापी रुपमा थालिएको एचपिभी खोप अभियान बाँकेमा पनि सुरु भएको छ । सोमबार माघ २२ गतेदेखि जिल्लाको विभिन्न पालिकामा यो अभियान सुरु गरिएको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय, बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझी माध्यमिक विद्यालय धम्बोझीमा नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले खोप ग्रहणकर्तालाई खोप कार्ड प्रदान गरिएर नेपालगन्जमा सुरु गरिएको छ ।
नगर प्रमुख बिष्टले नेपालगन्ज वडा नम्बर १ अहिर टोलमा बस्ने १० वर्षीया शिवाङ्गी सुनारलाई खोप कार्ड हस्तान्तरण गरी शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
फेबु्रअरी ४ अर्थात् आज विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत र १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्धको (एचपीभी) खोप अभियान सञ्चालन गरेको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गरिएको हो । मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो ।






