
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि कडाई गरेको छ । उपमहानगरपालिकाले नगरका कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि कडाई गरेको हो ।
यसैक्रममा सोमबार नेपालगन्जका सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेको छ । नेपालगन्ज नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीले सार्वजनिक स्थानमा फोहोर फालेकाले केन्द्रलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फाल्ने वडा नम्बर १० शितलनगरस्थित केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
‘हामीले फोहोर फाल्नेलाई स्पटमै बोलाएर, जरिवानासँगै अब उपरान्त नफाल्ने प्रतिबद्धतासमेत गराएका छौं,’ प्रहरी निरीक्षक बोगटीले भन्नुभयो, ‘फालिएको औषधीजन्य फोहोर उठाउन लगाएर कम्पनीमा फिर्ता गर्न लगाएका हौं ।’
उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम सार्वजनिक स्थानमा फोहोर गर्ने वा फाल्नेलाई कारवाहीस्वरुप जरिवाना तिराउँदै आएको छ ।






