आफ्नो बैंक खाता अरुलाई प्रयोग गर्न दिँदा फसिन मगर

नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई पक्राउ ग¥यो ।

विभिन्न व्यक्तिलाई वर्किङ्ग भिसामा जापान पठाइदिने प्रलोभनमा पारी प्रति व्यक्ति १४ देखि १५ लाखसम्म संकलन गरी मगरले १ करोड २३ लाख रूपैयाँ ठगी गरेको आरोप छ । पीडितहरूले मगरविरूद्ध वैदेशिक रोजगार विभाग काठमाडौंमा किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो ।

बाँके प्रहरीलाई विभागले पक्राउ गरी मगरलाई पठाइदिन आदेश गरेको आधारमा उनलाई आइतबार पक्राउ गरी सोमबार काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराजा भण्डारीले बताउनुभयो ।

डिएसपी भण्डारीका अनुसार पक्राउ परेकी तिर्सना एक सामान्य व्यक्ति हुन् । उनले कसैलाई पनि जापान पठाउने कुरा गरेकी थिइनन् । कसैसँग एक रुपैयाँ लिएकी पनि थिइनन् । तर, मानव तस्करहरूले केही रकमको प्रलोभनमा पारी तिर्सनाको बैंक खाता प्रयोग गरेको हुँदा उनी अप्ठ्यारोमा परेको डिएसपी भण्डारीले बताउनुभयो ।

‘उहाँ गाउँ घरमा बस्ने एक आम सर्वसाधारण महिला हो,’ डिएसपी भण्डारीले भन्नुभयो, ‘मानव तस्करहरूले आफूहरू बच्नका लागि तिर्सनालाई प्रलोभनमा पारी उहाँकै खाता प्रयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्छ ।’

वर्किङ्ग भिसामा जापान पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट लाखौं असुल्नेहरू अरू नै भएपनि तिर्सनाको बैंक खाता त्यसका लागि अरूले प्रयोग गरेको हुँदा उनी अप्ठ्यारोमा परेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

‘हामीले पक्राउ गर्दा तिर्सनालाई आफू पक्राउ पर्नुको कारणसम्म थाहा थिएन,’ अर्का एक प्रहरी अधिकारीले भने, ‘पछि हामीले सोधपुछका क्रममा तपाईंमाथि यस्तो अभियोग छ भन्ने कुरा गर्दा बल्ल उहाँले आफूलाई फसाइएको थाहा पाउनु भएको थियो ।’

आदेश बमोजिम आफूहरूले आइतबार नियन्त्रणमा लिई तिर्सनालाई काठमाडौं पठाइसकेका कारण थप अनुसन्धान अब उतै हुने ती प्रहरी अधिकारीले बताए ।

Previous articleऔषधिजन्य फोहोर फाल्ने सुनगाभालाई २५ हजार जरिवाना
Next articleजानकीको १७ औं गाउँसभाः नगर प्रहरी ऐन पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here