उपचारात्मक कक्षा सञ्चालन सिकाइ आदान-प्रदान

बर्दिया । सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आधारभूत विद्यालय गणित विषय शिक्षण पुनर्ताजगी तालिम तथा उपचारात्मक कक्षा सञ्चालन सिकाइ आदान-प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र बी-ग्रुपको सहयोग तथा सहजीकरण, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाको सहकार्य तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दिया को समन्वयमा मिति २०८३ साउन ८ देखि १० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम बी-ग्रुपका संस्थापक गोपालनाथ गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डम्मर सुनार, प्लानका क्षेत्रीय कार्यालय, सुर्खेतका शिक्षा प्राविधिक सल्लाहकार, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, परियोजनाका कर्मचारी तथा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका आधारभूत विद्यालयमा गणित विषय अध्यापन गराउने २० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

तीन दिने तालिममा सहभागी शिक्षकहरूले विद्यार्थी-केन्द्रित, प्रभावकारी तथा सहभागितामूलक गणित शिक्षणका नवीन विधि, उपचारात्मक कक्षा सञ्चालनका प्रभावकारी अभ्यास तथा सिकाइ सुधारका विभिन्न रणनीतिबारे ज्ञान र सीप हासिल गरेका छन् । साथै, आफ्ना विद्यालयमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यास र अनुभवहरू एकआपसमा आदान-प्रदान गरेका थिए ।

कार्यक्रमको सहजीकरण सुर्खेत क्याम्पसका प्राध्यापक नरहरि आचार्यले गर्नुभएको थियो । उहाँले व्यवहारिक अभ्यास, समूहगत छलफल तथा नवीन शिक्षण विधिमार्फत गणित शिक्षणलाई थप प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गरी विद्यालयमा गुणस्तरीय गणित शिक्षण प्रवर्द्धन तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Previous articleउद्योग वाणिज्य संघकाे अध्यक्षमा संजय थापा उम्मेदवार हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here