
नेपालगन्ज । नेपालगन्जमा रहेको युनाइटेड एजुकेशनल एकेडमीले मंगलबार आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा एक समारोहको आयोजना गरी विधि गतिबिधि गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव नेपालगन्ज वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रमकै अवसरमा उत्कृष्ठ अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयले आयोजना गरेको वार्षिक प्रतियोगिता तथा कक्षागत नतिजा अन्तर्गत शैक्षिक पुरस्कार २०८० मा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यका अनुसार कार्यक्रममा शिक्षा क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कक्षागत सांस्कृतिक प्रस्तुतिहरु राखिएका थिए । कार्यक्रममा सामुहिक तथा एकल नृत्य र ताइकान्दो खेलसमेतको प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन तथा भाबी योजनाका बारेमा संचालक प्रिन्सिपल जिबराज भण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको सामुहिक तथा एक नृत्य मौलिक लोकगीतमा भएका थिए भने विज्ञानसम्बन्धि विद्यार्थीहरुले तयार गरेको सामानहरुको प्रदर्शनी पनि गरिएको थियो ।






