अन्तर्राष्ट्रिय महिला दिवस, संविधान कार्यान्वयनलाई व्यवहारिक बनाउनुपर्छ : मेयर आचार्य

काेहलपुर । कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

`सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण´ भन्ने नाराका साथ कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, विल्चियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरि दिवस मनाइएको शाखा प्रमुख घटना शाहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले महिला दिवसको इतिहासबारे जानकारी दिंदै महिला अधिकार प्राप्तिको दायरा फराकिलो भएको बताउनुभयाे ।

उहाँले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्चित गरेकोले अब व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयाे । समान काम समान ज्यालाको लडाई अझैसम्म पनि कायमै रहेको उहाँको जिकिर छ । समाजमा महिलामाथिका विभेदहरु कम गर्नका लागि सबै तहतप्काहरु एक जुट हुनुको विकल्प नभएको बताउनुभयाे ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदा महिलाहरुको चेतनाको स्तर धेरै माथि उठेको बताउनुभयाे । उहाँले नेपालको संविधान महिलामैत्री रहेकोमा कुनै शंका नभएको बताउनुभयाे । तर कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउनु आजको आवश्यकता रहेको बताउनुभयाे ।

पछाडि पारिएका र पछाडि परेका महिलाहरूको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ । अहिलेपनि महिलमाथिको विभेद नरोकिएको भन्दै त्यसलाई चिर्न सबै एक हुनु पर्ने बताउनुभयाे । उहाँले अधिकारसंगै कर्तव्यको पालना गर्न पनि आग्रह गर्नुभयाे ।

कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले नीति निर्माण तहमा महिला सहभागीता बढ्दै गएको बताउनुभयाे । `अहिले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन आइरहेको छ उहाँले भन्नुभयाे, -` महिलाको अधिकार क्षेत्रमा वर्चस्व र परिवर्तनले महिलाविरुद्ध हुँदै आएको विभेदपूर्ण व्यवहारमा कमी आएको छ ।´ तर नेपाली महिलाका लागि अहिले पनि गर्व गर्नसक्ने अवस्था नरहेको भन्दै उनले महिलालाई भेदभाव, दुर्व्यवहार र हिंसाबाट मुक्त बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयाे ।

यस्तै दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले विभिन्न खालेको विभेद अन्त्यका सबैको एक्यवद्धता आवश्यकता रहेको बताउनुभयाे । ` सुखी नेपाल खुशी नेपाली´ का लागि समाजबाट सबै खाले विभेद हट्नु पर्छ´ उहाँले भन्नुभयाे । अझै पनि महिलामाथिको विभेद कायमै रहेको भन्दै उहाँले खासगरी श्रममा भैरहेको विभेद अन्त्य गर्न आग्रह गर्नुभयाे । स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन सुझाव पनि दिनुभयाे ।

यस्तै नेकपा समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइ अझैपनि कायमै रहेको बताउनुभयाे । उहाँले महिलामाथी हुने विभेद अन्त्यका लागि मनाइदै आइएको महिला दिवसलाई सार्थक बनाउन सबै खाले विभेद हटाउनु पर्ने बताउनुभयाे । संविधानले नै महिला अधिकार सुनिश्चितता गरेकाले धेरै हदसम्म महिला अधिकार प्राप्ति भएको बताउनुभयाे ।

सामाजिक विकास समिति संयोजक इश्वरी विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गर्नुभएकाे थियाे । कार्यक्रममा भलिबल प्रतियोगिता र विल्चियर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, बिद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।

Previous articleनारी दिवसको अवसरमा वीपी चोकमा दिप प्रज्वलन
Next articleखजुरामा परीक्षा केन्द्र निर्धारण व्यावहारिक नभएको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here