
धनगढी । कैलालीमा साढे दुई किलो चरेस र करीब चार ग्राम लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बोराडाँडीबाट चरेससहित एक महिला र धनगढीसहितका अन्य स्थानबाट खैरो हेरोईनसहित अन्य तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागू औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई पक्राउ गरेको छ ।
बोहरालाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट २ किलो ५ सय ८० ग्राम चरेस बरामद गरिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूूहको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार कार्यालय नजिकैबाट डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गैरा बस्ने २४ वर्षीय किरण बहादुर वि।कलाई पक्राउ गरेको छ ।
उनको साथबाट दुई ग्राम १ सय २० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको छ । धनगढी वडा नम्बर ३ कै शिशा पोष्ट नजिकबाट गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय सागर चौधरीलाई पक्राउ गरिएको छ । उनको साथबाट एक ग्राम १ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ को ब्यारेलबाट बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय बिरेन्द्र सिंह भाटलाई पनि पक्राउ गरिएको छ । चेकजाँच गर्दा उनको मुखबाट ६ सय ६० मिलिग्राम लागुऔषध खैरो हेरोइन० बरामद गरिएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





