
नेपालगन्ज । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आइतबार देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
यसै अवसरमा नेपालगन्जमा रहेको सिद्धार्थ ज्याकपट गेमिङ्ग सेन्टरले आइतबार नीलसागर बृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरेको छ । केही सामाजिक कार्य गर्नुपर्छ भनेर सेन्टरले कृष्ण पक्ष औंसीको अवसरमा सेवाश्रममा आश्रितहरुका लागि खाद्यान्न तथा नगद सहयोग गरेको हो ।
सेन्टरका संचालक प्रताप कुमार बम, जनरल म्यानेजर धर्मेन्द चन्द र एचआर म्यानेजर सन्तोष प्रकाश जोशीले उक्त सहयोग नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनाललाई संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
सो क्रममा संचालक बमले आफुहरुद्वारा हाललाई सानो सहयोग गरिएको भएपनि आगामी दिनमा अझ बढी सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले कसैले गर्न नसकेको कार्य अध्यक्ष खनाल लगायत समूहले गरिरहेको भन्दै पूण्यको कामका लागि धन्यवाद् प्रदान गर्नुभएको थियो ।
‘सक्ने सबैले नसक्नेलाई जे हुन सक्छ सहयोग गर्नुपर्छ,’ संचालक बमले भन्नुभयो, ‘यसले समाजमा रहेका विपन्नलाई वर्ग बाँच्न सहयोग पु¥याउँछ । र यस्तै कार्य गर्न आफुलाई मन लागिरहन्छ, आगामी दिनमा पनि अवश्य सहयोग हुन्छ ।’
यस्तै जनरल म्यानेजर चन्द, एचआर म्यानेजर जोशी र पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाहले सामाजिक कार्यमा सबैले हात बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।
नीलसागर सेवाश्रमकी अध्यक्ष खनालले आफुहरुले गरेको कार्यलाई सम्झेर सबै मनकारीहरुले गर्दै आउनुभएको सहयोगले गर्दा हालसम्मको अवस्थासम्म पनि सेवा गर्न सकिएको भन्दै धन्यवाद दिनुभएको थियो ।
सेन्टरले खाद्यान्नमा ५ बोरा चामल, १० किलो दाल, १ पेटी खाने तेल लगायत सामाग्री र २० हजार पाँच सय रुपैया नगद सहयोग प्रदान गरेको थियो । सहयोग प्रदान पश्चात सेवाश्रममा रहेका आमा बुबालगायतलाई खाजा प्रदान कार्यमा सहभागि भएका थिए ।






