मधुवनको वडा नम्बर ८ बाल विवाहमुक्त घोषणा

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ लाई शनिबार बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शनिबार एक कार्यक्रमका बीच वडालाई बाल विवाहमुक्त घोषणा गर्नुभएको हो ।

वडालाई घोषणा गर्दै मन्त्री तिमिल्सिनाले नेपाललाई बाल विवाहमुक्त बनाउने जिम्मेवारी हामी सबैको भएको बताउनुभयो । उहाँले वडा वडालाई बाल विवाहमुक्त घोषणा गर्नका लागि स्थानीय पालिका अर्थात सरकारले तिब्रता दिनुपर्ने बताउनुभयो ।

‘यो वडालाई बाल विवाह मुक्त घोषणा गर्न सकिएकोमा मुधवन नगरपालिकालाई धन्यवाद छ ।,’ मन्त्री तिमिल्सिनाले भन्नुभयो, ‘यो अभियानमा निरन्तर सहयोग गर्ने संघ संस्थाहरुलाई पनि बिशेष आभार व्यक्त गर्न चाहन्छुु ।’

मन्त्री तिमिल्सिनाले बिस्तारै सम्पुर्ण वडा घोषणा गरेर पालिकालाई घोषणा गर्न शुभकामना दिनुभयो । साथै उहाँले बाल विवाह नेपाली समाज विकासको बाधकका रुपमा रहेको बताउनुभयो ।

बाल विवाहका कारण देशमा थुप्रै किशोरीहरुले अकालमा ज्यान गुमाउनुका साथै मातृ मृत्युदर बृद्धिमा सहयोग पुगेकाले यो समस्या समाधानमा आम नेपाली नलागेसम्म अवस्था यस्तै रहिरहने बताउनुभयो ।

प्रदेश सरकार समुदायमा सामाजिक समस्याको रुपमा रहेको बाल विवाह अन्त्यको लागि हातेमालो गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यसअघि मधुवन नगरपालिकाकै वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ । प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणीय बिशिष्टता समुह (बि, ग्रपु) बाँके, युनिस्को क्लब बाँकेले मधुवन बालविवाह न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

मधुवन नगरपालिकाको समन्वय सहकार्यमा सचेतना मुलक कार्यक्रमको सहयोगमा घर–घर पुगेर सर्भेक्षण गरेर प्राप्त तथ्याँकका आधारमा वडालाई घोषणा गरिएको हो ।

कार्यक्रममा मधुवनका मेयर तेजबहादुर भाटले नगरलाई बाल विवाहमुक्त घोषणा गर्न निरन्तर कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार बाल विवाह न्यूनिकरणका लागि प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेल, नगर उपप्रमुख अनिता चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

वडा नम्बर ८ का वडा अध्यक्ष मेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका सभापति तथा प्रतिनिधिहरु, सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवनलाई वि.स. २०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना बनाइएको छ ।

घोषणा कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो ।

Previous articleनेपालगन्जमा १५ दिने झोला बनाउने तालिम संचालन
Next articleबृहत्तर लुम्बिनी गुरूयाेजनाकाे बहस सुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here