
नेपालगन्ज । नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा जुनियर नाटाका विद्यार्थीलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
नेपालगन्ज कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नाटाका पूर्व केन्द्रीय सदस्य एवं स्वास्थ्य विज्ञ सेमराज शाक्यले क्षयरोगको परिचय, सर्ने माध्यम, क्षयरोगका प्रकार, निदान, उपचार, रोकथाम र क्षयरोग निवारण संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिनु भएको थियो ।
क्षयरोग निवारण संस्था बाँके शाखाका अध्यक्ष जनकराज भण्डारीले केन्द्रीय कार्यक्रम अनुसार आम समुदायमा जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले विद्यार्थीहरु मार्फत सन्देश प्रवाह गर्न यो अभिमुखीकरण गरिएको हो । उक्त विद्यालयमा जुनियर नाटा समिति समेत गठन भएको बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रम नाटा बाँके शाखाका अध्यक्ष जनकराज भण्डारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपालगन्ज कन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेणु शेरचन, प्रधानाध्यापक यशोदा नेपाली, नाटा बाँकेका सल्लाहकार सुन्दर शाक्य, कार्यसमिति सदस्य प्रहलाद विश्वकर्मा लगायतको सहभागिता रहेका थियो भने कार्यक्रम संचालन नाटा बाँकेका सचिव बसन्त लमिछानेले गर्नुभएको थियो ।





