
नेपालगन्ज । नेपालगन्जमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जिल्लाको कोहलपुरले उपाधी उचाल्न सफल भएको छ ।
जेठ १९ र २० गते दुई दिन नेपालगन्जमामा भएको प्रतियोगिताको खेलहरुमा कोहलपुर नगरपालिका अन्तर्गत सहभागि खेलाडीहरुले जित निकाल्दै आफ्नो बर्चश्व जमाउन सफल बनेको हो ।
कोहलपुरले निरन्तर चौथो पटकसम्म जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि लिन सफल भएको छ । कोहलपुरका खेलाडीहरुले यस वर्षपनि ५१ पदक जित्न सफल भएका छन् । जसमा २७ स्वर्ण, ११ रजत र १४ कास्य प्राप्त गरेर कोहलपुर प्रथम हुन सफल भएको हो । कोहलपुरले यस अघि ह्याट्रिकसमेत गरिसकेको थियो भने जसलाई निरन्तरता दिइरहेको छ ।
प्रतियोगितामा आफ्नो क्षेत्रको नतिजा उत्कृष्ठ ल्याउन सफल खेलाडीहरुलाई बधाई दिन कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य खेल स्थल पुग्नुभएको थियो । उहाँले आफ्नो अस्थित्व बचाउन सफल भएको भन्दै खेलाडी, प्रशिक्षक, कोहलपुर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी सबैमा बधाईसँगै आभार व्यक्त गर्नुभएको थियो ।
‘पालिकाले गरेको लगानीको प्रतिफल खेलाडीले फिल्डमा देखाएका छन्’ नगर प्रमुख आचार्यले भन्नुभयो, ‘जसले थप उर्जा मिलेको छ ।’ कोहलपुरलाई खेलकुद ग्रामका रुपमा विकसित गर्ने संकल्प लिएको नगर प्रमुख आचार्यले बताउनुभयो । खेलकुदले सामाजिक विकृति, कुसंस्कृति र कुलत जस्ता असामाजिक गतिविधिहरुमा न्यूनिकरण गर्न खेलकुदले समेत सघाउन पु¥याउने उहाँको भनाई थियो ।
यस्तै प्रतियोगितामा नेपालगन्ज दोस्रो हुन सफल भएको छ । नेपालगन्ज जम्मा ३७ पदक जित्न सफल बन्यो । जसमा १३ स्वर्ण, ९ रजत र १५ कास्य रहेका छन् । यसैगरी प्रतियोगितामा बैजनाथ तेस्रो हुन सफल बनेको छ । बैजनाथका खेलाडीहरुले ९ स्वर्ण, ९ रजत र १८ कास्य जित्न सफल भएको सचिवालय संयोजक यामनारायण महतोले जानकारी दिनुभयो ।
प्रतियोगितालाई लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एव पूर्व मन्त्री रत्न खत्रीले उद्घाटन गर्नुभएको थियो । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा सो प्रतियोगिता संचालन भएको थियो । लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तथा प्रतियोगिताका संयोजक डिबी तामाङका अनुसार प्रतियोगितामा ७ वटा पालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा करिब पाँच सय विद्यार्थीहरुको उपस्थिति रहेको थियो । संयोजक तामाङका अनुसार एथलेटिक्स, भलिवल, कवड्डी, तेक्वान्दो, कराते र उसू गरी प्रतियोगितामा ६ वटा विद्याका खेल मावेश गरिएको थियो ।





