
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशकले जमुनाहा हेल्थ डेस्कको अनुगमन गरेका छन् ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले संयुक्त रुपमा जमुनाहा हेल्थ डेस्कको बुधबार अनुगमन गर्नुभएको हो ।
अनुगमनकै क्रममा नेपाल भारत सिमानामा रहेकोे जमुनाहा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुसंग सेवाको अवस्था र सेवाको प्रभावकारिताका लागि छलफल गरिएको छ । जमुनाहा भएर नेपाल भित्रिने यात्रीहरुको स्वास्थ्य अवस्था जाँच गरि पठाउन निर्देशन दिनुभएको छ ।
उहाँले सरुवा रोग लागेका बिरामीहरुलाई आइशोलेसन तथा सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टिनमा राखेर रोग फैलिनबाट रोक्न इमानदारीपूर्वक काम गर्न स्वास्थ्यकर्मीसंग आग्रह गर्नुभयो ।
भारतबाट आउन सक्ने सरुवा रोग नियन्त्रणका लागि नाकामा खटिएका कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले यसमा लापरवाही नगर्न स्वास्थ्यकर्मीसंग उहाँले अनुरोध गर्नुभयो ।
यस्तै निर्देशनालयका निर्देशक चौधरीले छिमेकी देश भारतमा फैलिएको कुनैपनि रोग यात्राको क्रममा नेपाल भित्रनबाट रोक्न हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हुने भएकोले तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।
छलफलमा बिश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालय बाँके निमित्त प्रमुख नरेश बाबू श्रेष्ठ र हेल्थ डेस्कका १२ जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
भारतमा कोभिड-१९ देखा परे प्रश्चात केही दिनअघि यही असार २ र ५ गते जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमार्फत परीक्षण गर्दा बर्दियाका १ जना र कालिकोटका १ जना गरि २ जनामा कोभिड-१९ एन्टिजिन टेष्ट किट पोजिटिभ देखिएको थियो ।
पोजिटिभ देखिएपछि उनीहरुलाई होम आइशोलेसनका लागि सम्बन्धित स्थानीय तहसंग समन्वय गरि पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।






