
नेपालगन्ज । बाँके जिल्लालाई बिहीबार एक कार्यक्रमकाबीच पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, सुशिला नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी, बाँके जिल्लाका आठ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीलगायतको लगायतको उपस्थिति रहेको थियो ।
जिल्लमा खोप लिन छुटेका ६ सय ४६ जना बालबालिकालाई खोप उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । जन्मेदेखि १५ महिनासम्मका १२ हजार ९ सय ३७ र १६ महिनादेखि २३ महिनासम्मका ९ हजार ५ सय १३ जनालाई नियमित खोप प्राप्त गरेको पनि उहाँले बताउनुभयो ।





