
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी र नेपालगन्ज उपमहानगरपालिको आयोजनामा तीन दिने प्रारम्भिक दु्रत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड सम्बन्धि तालिम शुक्रवारदेखि सुरु भएको छ ।
सुपर परियोजनाको प्राविधिक सहयोगमा संचालित उक्त तालिमको मुख्य उद्देश्य विपद्पछि समुदायलाई तत्काल उपलब्ध गराउने मानवीय सहायताका कार्य प्रभावकारी प्रवाह बनाउन सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने रहेको छ ।
तालिममा उपमहानगरपालिकाका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेरेसो मनिकापुर र सदरलाइन उपशाखा, नगरस्तरीय अपाङ्गता समिति लगायत प्र्रतिनिधिहरुको सहभागिता रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समीर प्रताप सिंहले विपद् पूर्वतयारी तथा व्यवस्थापनका लागि नगरपालिकाबाट योजनबद्ध कार्यक्रमहरु संचालन भइरहेको बताउनु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले मनसुनलाई मध्यनगर गरी विपद् भए पछि तत्काल प्रारम्भीक दु्रत लेखाजोखा फाराम अनिवार्य रुपमा भर्नु पर्ने भएकोले स्थानीय तह र वडा कार्यालयमा दक्ष जनशक्ति र फाराम हुनु आवश्यक रहेको कुरामा जोड दिनु भयो ।
समितिका संयोजक सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृृत गोर्खबहादुर थापा, नेरेसो बाँके शाखा सभापति सम्झना, नेरेसो विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल र नेरेसो विपद् व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका शेरबहादुर कार्की लगायतले विचार व्यक्त गर्नु भएको थियो ।





