
नेपालगन्ज । बाँके राप्ती सोनारीका गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बाँकेका संगीतकर्मी, कलाकर्मीकाबिच साे भिडियो सार्वजनिक गरिएको हो ।
१२ मिनेटको उक्त म्युजिक भिडियोको सबै छायांकन बाँकेको खजुरा १ सैनिकमा गरिएको छ । नेपाली मौलिक पहिचान बोकेको कौडा गीतको भिडियो मौलिकता र आधुनिकताको फ्युजन रहेको गायक जिएमले बताउनुभयाे ।
‘टिपिकल कौडामा धेरै बाजाको प्रयोग गरिएको हुन्छ । यसमा कम बाजाको प्रयोग भएको छ’ गायक जिएमले भन्नुभयाे । आफुले आधुनिक गित गाउने भएका कारण पनि गीतमा थोरै फ्युजन गरिएको उहाँले बताउनुभयाे ।
बरिष्ठ कलाकार सुन्दर गुरुङले नेपाली मौलिक कौडामा थोरै फ्युजन गरिएको भएपनि भिडियो हेर्दा राम्रै बनेकाे प्रतिक्रिया दिनुभयाे । यस्तै कलाकार केवि शाहीले काठमाडौंमा बसेर नेपाली संगीत क्षेत्रमा पहिचान बनाएकी गायिका मेलिना राईकै स्तरमा बाँकेका गायक जीएमले गीत गाउन सकेको भन्दै प्रशंसा गर्नुभयाे ।
म्युजिक भिडियोमा नृत्य, ताल, सिनेमाटोग्राफीमा केही कमि कमजोरीहरु देखिएपनि गीत र भिडियो राम्रो बनेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका पौडेलले बाँकेबाट यो गुणस्तरको म्युजिक भिडियो उत्पादन हुनु गौरवको विषय भएको बताउनुभयाे । यस क्षेत्रका कलाकारहरुले यहाँका ठाउँ, नेपाली मौलिक पहिचान बोकेको गीतहरु उत्पादन गरिरहेकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने समेत वक्ताहरुले वताए ।
कार्यक्रममा दुई दर्जनबढी कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।गीतमा गायक जीएमसंगै गायिका मेलिना राईको स्वर रहेको छ । गायक जिएमले यसअघि थारु भाषा र नेपाली भाषामा गीत गाइसक्नुुभएकाे छ ।
नृत्य निर्देशक नवराज सुवेदीको अभिनयमा डेब्यु
बाँके जिल्लामा बसेर नृत्य निर्देशनमा सक्रिय नवराज सुवेदीले ‘मायामा भुल’ नेपाली कौडा गीत मार्फत अभिनयमा डेब्यु गर्नुुभएकाे छ ।
यसअघि दर्जनौं म्युजिक भिडियोको निर्देशन गरिसक्नुभएका सुवेदीले यो गीतको निर्देशनसंगै पहिलो पटक अभिनय गर्नुभएकाे छ । गीतमा निर्देशक सुवेदी, गायक जीएम, नृत्याङ्गना दुर्गा राना र एलिसा बोहराको नृत्य रहेको छ ।
नृत्याङ्गनाका अभिभावकहरुले अहिले डिजिटल प्लेटफर्मले कलाकारलाई देश विदेशमा चिन्ने मौका दिएकाले छोरीहरुलाई कला क्षेत्रमा लाग्नका लागि परिवारले पुर्ण सहयोग गरिरहेको बताए ।
गीतमा करिव ढाई लाख लगानी लागेको नृत्य निर्देशक सुवेदीले बताउनुभयाे । यो गीत गायक शिव जीएमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।






