
काेहलपुर । बाँकेकाे कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा यस आवको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सुनुवाइको अन्तमा ८ बुदे सार्वजनिक प्रतिबद्धताको घोषणा भएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर ११ देखि १३ जोड्ने सडक निर्माण गर्ने, नगरपालिकाद्वारा संचालन गरिने कार्यक्रम, तालिमलाई थप प्रभावकारी बनाउने, तालिम, कार्यक्रम जेष्ट मसान्तसम्म सम्पन्न गर्ने, बिकास निर्माणका कार्यहरूको गुणस्तरीयताका लागि नियमित अनुगमन गर्ने, नागरिकहरुद्वारा निगरानी गर्ने, स्वास्थ्य संस्थाहरु मार्फत नि:शुल्क बितरण गरिने औषधिहरुको अभाव हुन नदिने गरि आबश्यक व्यवस्था मिलाउने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने रहेका छन् ।
यसैगरी अन्य प्रतिबद्धताहरुमा कोहलपुरका विभिन्न वडाहरुमा नागरिक र जंगली जनावर बिच भइरहेको द्वन्द्व न्यूनीकरणका लागि आगामी आबमा बजेट बिनियोजन गर्ने, खुला व्यायामशाला उपयुक्त स्थानको खोजी गरि निर्माण गर्ने, सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माण भइरहेकोमा बाँकी रहेका भवनहरु क्रमागत रुपमा निर्माण गर्ने, बिकास निर्माणका लागि गठन हुने उपभोक्ता समितीहरुबाट ठेक्कामा काम दिने गरेको सप्रमाण उजुरी प्राप्त भएमा त्यस्ता समितिहरुलाई आवश्यक कार्वाही गर्ने, उपभोक्ता समितिहरुलाई आवश्यक तालिम प्रदान गर्ने र सिपमुलक तालिमको प्रभावकारिता मुल्यांकन गरि प्रक्रियागत रुपमा प्रबिधी हस्तान्तरणलाई नियमित र प्रभावकारी बनाउने रहेका छन् ।
सार्वजनिक सुनुवाइमा नागरिकहरुले सोधेका प्रश्नहरुको उत्तर नगर प्रमुख पूर्ण प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुले जवाफ दिनुभएकाे थियाे । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा बास नेपालकी महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा १५० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।





