
नेपालगन्ज । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा वर्षेनी झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण हुने गरेकोले समुदायस्तरमा अभियान चलाउनुपरेको बताउनुभयो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण फैलने समय भएकाले यो बेला उच्च सतर्कताका साथ अभियान सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८१÷८२ का लागि एक करोड २० लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य सचिव डिल्लीराम शर्माले कार्यक्रममा जानकारी गराउनुभयो । नेपालमा पहिलो पटक २०६१ सालमा चितवनमा डेङ्गी सङ्क्रमण देखा परेको थियो ।
यस वर्ष ७५ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले सन् २०३० सम्ममा डेङ्गी सङ्क्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ । तर यसअघि कम सङ्क्रमण देखिने काठमाण्डौ उपत्यकासहित पहाडी र उच्च पहाडी क्षेत्रमा समेत डेङ्गी फैलिरहेकोले नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ ।





