
नेपालगन्ज । बाँके जिल्लामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।
आर्थिक वर्ष २०८१-०८२ मा चार गुणा बढी मोटरसाइकल दुर्घटना भएका छन् । यसले मोटरसाइकल दुर्घटनाको जोखिम बढेको देखाएको छ ।
यस वर्ष जिल्लाभरीमा भएको सवारी साधन दुर्घटनामा ४६१ वटा मोटरसाइकल, दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक पुष्करराज पन्तका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष मोटरसाइकल दुर्घटनामा बृद्धि भएको छ ।
गत वर्ष १२० वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । यस एक वर्षमा सबैभन्दा बढी जेष्ठ महिनामा मोटरसाइकल दुर्घटना भएको छ । यस महिनामा ७१ वटा मोटरसाइकल दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
यस वर्षको चैत्र महिनामा ६९ र माघ महिनामा ६२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । साउनमा १२, भदौमा ५, असोजमा ११, कार्तिकमा १२, मंसिरमा १९, पुषमा ४१, फागुनमा ५८, बैशाखमा ५७ र असार २७ गतेसम्मा ४४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
गत आर्थिक वर्ष २०८०-०८१ मा भने सबैभन्दा बढी कार्तिक महिनामा २० त्यसपछि पुष र चैत्रमा १४/१४, बैशाख र जेष्ठमा ११/११ वटा मोटरसाइकल दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकलपछि टेम्पो ९८ र जिप कार ७६ वटा दुर्घटनामा परेको छ ।





