
नेपालगन्ज । थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा किर्तिमान बनाउनुभएका नेपालगन्जका करण बाडिया काठमाडौंमा सम्मानित हुनुभएको छ । बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गर्नुभएको छ ।
काठमाडौंस्थित नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर प्रमाण पत्रसहित खादा मालाले बाडियालाई सम्मान गरिएको हो । उक्त प्रतियोगितामा सहभागि भएका सम्पूर्ण खेलाडी स्वदेश फर्किएका छन् । नेपाल स्टेन्थलिफ्टिङ महासंघ स्थापित काठमाडौंले खेलाडी बाडियासहितलाई सम्मान प्रदान गरेको छ ।
उक्त च्याम्पियनसिप प्रतियोगिता २०२५ जुलाई १६ देखि १९ सम्म संचालन भएको थियो । नेपालको प्रतिनिधित्व विभिन्न खेलाडीले पदक जितेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का बाडियाले बिश्व रेकर्ड बनाउनुभएको छ । बाडियाले सिनियर ६० के.जी. तौल समूहको आई.बी.पी.मा दोस्रो, स्ट्रेन्थलिफ्टिङ्ग (हेक लिफ्ट) मा प्रथम स्थान र २२० के.जी. भार उठालेर विश्व रेकर्ड हासिल गर्न सफल भएको हुँदा बधाईका साथ स–सम्मान सम्मान गरिएको महासंघले बताएको छ ।
सो प्रतियोगितामा सहभागि नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य जित्नु भएको छ । यस्तै नेपालगन्ज २ घरबारीटोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको थियोे । प्रतियोगितामा नेपालबाट नौ जना खेलाडी सहभागी भएका थिए । नेपाली टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको छ ।





